काठमाडौं,२० कार्तिक । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्भावित विरोध प्रदर्शन, आन्दोलन तथा शान्ति सुरक्षासम्बन्धी चुनौतीको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुका साथै रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रणसम्बन्धी विशेष प्रदर्शनको अवलोकन गर्नुभएको हो।
निरीक्षणका क्रममा उहाँले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षासम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता परिस्थितिमा सशस्त्र प्रहरी बलको प्रभावकारी परिचालन सुनिश्चित गर्न आवश्यक सबै तयारी चुस्त र दुरुस्त राख्न निर्देशन दिनुभयो।
उहाँले सम्भावित सुरक्षा चुनौतीको सामना गर्न जनशक्ति, उपकरण तथा परिचालन क्षमतालाई तयारी अवस्थामा राख्दै जिम्मेवारी निर्वाहमा उच्च व्यावसायिकता र प्रभावकारिता कायम गर्नुपर्नेमा जोड दिनुभएको छ।
महानिरीक्षक पौडेलको यस निरीक्षण तथा निर्देशनले सम्भावित आन्दोलन र दंगा नियन्त्रणका चुनौती सामना गर्न सशस्त्र प्रहरी बलको तयारी, क्षमता र परिचालनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
