बिरगंज , २ असोज।श्रीजंग गणले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खोलाको आसपासको ठाउँमा बृह्त वृक्षारोपण गरेको छ । गणले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खोलाको आसपासको खुल्ला ठाउँमा करिव पाँच हजार बिरुवा वृक्षारोपण गर्ने अभियानको सुरुवात गरेको छ ।
श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजंगलमा अतिक्रमणमा परेकाले पनि सो ठाउँमा हाराभरा बनाउन वृक्षारोपण गरिएको जानकारी दिनुभयो । ‘‘चुरे क्षेत्रको वनजंगल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणको कारणले मासिने क्रम वृद्धि भइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘अहिले चुरेलाई नजोगाउने हो भने भविष्यका नयाँ पिढिँले विभिन्न खालका समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले पनि भावी पिढिँ
लाई जोगाउनको लागि पनि अहिले वृक्षारोपण गरेर चुरे जोगाउन खोजेका हौं ।’’ प्रमुख सेनानी कटुवालले गणले यो पटक पाँच हजार बिरुवा वृक्षारोपण गर्न लागेको जानकारी दिनुभयो ।‘‘चुरे संरक्षणका लागि बुधबारदेखि वृक्षारोपण सुरुवात गरेका छौं’’ उहाँले भन्नुभयो,‘‘यो वृक्षारोपण अभियान पाँच हजार बिरुवा नरोपेसम्म रोकिदैंन ।’’ प्रमुख सेनानी कटुवालले आफू मातहतका निकायलाई वृक्षारोपण पछि पनि नियमित बिरुवाको हेरचाह र संरक्षणमा पनि ध्यान दिन निर्देशन दिनुभयो । ‘‘ नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिनुहोला,’’ उहाँले भन्नुभयो,‘‘रोपिएका बिरुवाको नियमित पानी र गोडमेल गरेर नियमित रुपमा बिफिङ गर्नुहोला ।’’
सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले वृक्षारोपणमा झण्डै आधा दर्जन प्रजातिका विरुवा रोपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष गरी सतिसाल,अमला,सागवान,सिसौ, लहरेपिपल लगायतका प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ । प्रमुख सेनानी कटुवालले आफू मातहतका निकायलाई अवैध वनजंगल फडानी गर्ने र वन्यजन्तुकोचोरी शिकारी गर्ने माथि पनि निगरानीमा राखेर आवश्यक कारवाही गर्न पनि निर्देशन दिनुभएको छ ।
सो वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का जनप्रतिनिधि,सामुदायिक वनका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
