वीरगञ्ज, १६ असोज ।
बडादशैँजस्तो महान् चाडको अवसर पारेर पर्सा जिल्लाको दलित बस्तीमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज महानगरपालिका–१६ पशुपतिनगर टोलस्थित नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साले स्थानिय बस्तीलाई लक्षित गर्दै सामुदायिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले दलित बस्तीका गरिब र विपन्न परिवारसँग दशैँको टीका लगाउँदै सामूहिक भोजमा सहभागी भए। कार्यक्रममा स्थानीय समुदायलाई साबुनपानी प्रयोग गरी सही तरिकाले हात धुने तरिका समेत सिकाइिएको थियो। एसपी भट्टका अनुसार हालै देखा परिरहेको हैजाको प्रकोपलाई मध्यनजर गर्दै सरसफाइमा ध्यान दिनुपर्ने भएकाले यस्ता सचेतनामूलक क्रियाकलापलाई प्राथमिकता दिइएको हो।

समुदायलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले बालबालिकाहरुलाई स्टेशनरीका सामग्री वितरण गरिएको थियो। त्यस्तै, प्रत्येक घरधुरीलाई सरसफाइलाई प्रोत्साहन गर्ने हेतुले बाल्टिन, जग र साबुन वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी स्थानियवासीलाई सामूहिक खाजाको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीसँगै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष पर्शुराम चौरासिया, प्रहरी चौकी ईनर्वाका प्रसनि राजकुमार राय यादव, स्थानीय सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीले सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक र सामुदायिक सहयोगका कार्यक्रमले सुरक्षाकर्मीप्रति विश्वास बढाउने र सुरक्षाकर्मी तथा समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने प्रतिक्रिया दिएका छन्।
सशस्त्र प्रहरी अधिकारीहरूका अनुसार यस्ता सामुदायिक सहयोग तथा सचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता गरिएको छ।
यसरी दशैँको अवसरमा सशस्त्र प्रहरी बलले विपन्न र दलित समुदायसँग चाडपर्व मनाउनुले सामाजिक समावेशीकरणमा योगदान पुरयाएको देखिएको छ।
