(एसपी मोहनबहादुर क्षेत्रीको तस्करीविरुद्ध शून्य सहनशीलता नीति, प्रसौनीभाठ्ठाबाट मोटरसाइकलसहित मोबाइल पार्ट्स नियन्त्रणमा)
वीरगञ्ज, ७ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीले तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाएसँगै सीमा क्षेत्रमा चेकजाँच र निगरानीलाई प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैक्रममा सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठाबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका १२ लाख ७४ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको चेकपोइन्ट टोलीले मिति २०८३ कात्तिक ६ गते चेकजाँच गर्ने क्रममा उक्त मोबाइल पार्ट्स नियन्त्रणमा लिएको हो। भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेका मोबाइल पार्ट्ससँगै सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जानकारी दिएको छ।
एसपी क्षेत्रीको नेतृत्वमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेको छ। सीमावर्ती नाकाहरूमा चेकजाँचलाई प्रभावकारी बनाउँदै अवैध रूपमा सामान भित्र्याउने गतिविधिमाथि निगरानी बढाइएको सशस्त्र प्रहरीको भनाइ छ।
पछिल्लो बरामदगीले प्रसौनीभाठ्ठा क्षेत्रबाट हुने सामानको अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी जारी राखेको देखाएको छ। सीमा सुरक्षा मजबुत बनाउने, भन्सार छली रोक्ने र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यसहित तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।
