पर्सा, १६ असोज ।
बडादशैँको अवसर पारेर सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, पशुपतिनगर टोलस्थित नेपाल–भारत सीमाक्षेत्रमा सामुदायिक सहयोग तथा सामुदायिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ।
मिति २०८२ साल असोज १६ गते अन्दाजी दिउँसो २ बजेर ४५ मिनेटको समयमा आयोजना गरिएको उक्त कार्यक्रममा विपन्न वर्गका समुदायलाई लक्षित गर्दै बालबालिकाहरुलाई स्टेशनरीका सामग्री वितरण गरिएको थियो। साथै प्रत्येक घरधुरीलाई सरसफाइलाई प्रोत्साहन गर्ने उद्देश्यले बाल्टिन, जग र साबुन वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीलाई सामूहिक खाजा समेत खुवाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी रहेका थिए। साथै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष पर्शुराम चौरासिया, प्रहरी चौकी ईनर्वाका प्रसनि राजकुमार राय यादव, स्थानीय सञ्चारकर्मी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बलले दशैँ जस्तो महान् पर्वको अवसर पारेर गरिबी र विपन्नतामा जीवनयापन गरिरहेका समुदायलाई सहयोगका कार्यक्रमले सामाजिक सद्भाव र सुरक्षाकर्मीप्रति विश्वास बढाउने उद्देश्य लिएको जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीले सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक गतिविधिले समुदायसँग सुरक्षाकर्मीबीचको सम्बन्ध अझ प्रगाढ हुने बताएका छन्।
सशस्त्र प्रहरीका अधिकारीहरूका अनुसार आगामी दिनमा पनि यस्ता सामुदायिक सहयोग तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइएको छ।
