जनकपुर, साउन ६ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ साल असार महिनाको ‘Best Province Police of the Month’ (सर्वोत्कृष्ट प्रदेश प्रहरी) घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारीले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम मल्ललाई प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जारी प्रशंसा–पत्रमा प्रहरी निरीक्षक मल्लले आफ्नो जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र व्यावसायिक रूपमा निर्वाह गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन, लागूऔषध नियन्त्रण अभियानलाई सफल बनाउन तथा सर्वसाधारण नागरिकमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिएको छ।
साथै, प्रहरी संगठनको प्रतिष्ठा र प्रभावकारिता अभिवृद्धिमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँलाई २०८३ साल असार महिनाको ‘Best Province Police of the Month’ घोषणा गरिएको जनाइएको छ।
सम्मान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी निरीक्षक मल्लको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा पनि यही समर्पण, इमानदारी र उत्कृष्ट सेवाभावका साथ नागरिक सुरक्षामा सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक मल्लको उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
