वीरगञ्ज, साउन ६ ।राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा निवासी ३९ वर्षीय अशोक जैसवाललाई मंगलवार साँझ करिब ६:५० बजे इनर्वा गाउँ सडकखण्डबाट पक्राउ गरेको हो।
जैसवालविरुद्ध सम्मानित उच्च अदालत जनकपुर स्थायी इजलास वीरगञ्जको मुद्दा नं. ०७७-FJ-००६२ (राजस्व चुहावट) मा ३ महिना कैद तथा २८ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका जैसवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
