रसीद आलम,पर्सा,२९ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहतका सशस्त्र प्रहरी बल बि.ओ.पि.बन्जारीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एक भारतीय मोटरसाइकल पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बि.ओ.पि.बन्जारीका सशस्त्र प्रहरी निरीक्षक छबिराम दरलामी मगरको कमान्डमा खटिएका टोलिले JP32CD5560 नम्बरको कालो रंगको HERO HONDA SPLENDOR भारतीय मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको ५ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल पर्साको अनुसार शुक्रबार दिउँसो १:१५ को समयमा छिपहरमाई गा.पा.-४ स्थित बन्जारी पोखरीया भिष्वा सडकमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. बन्जारी, भिष्वाको चेक प्वाईन्ट टोलीलाई देख्नासाथ पोखरियाबाट भिष्वातर्फ आउँदै गरेको ईन्जिन नं. 07H15E19033, च्यासिस नं. 07H16F20878 भएको भारतीय स्पेलेन्डर मोटरसाईकललाई छाडी व्यक्ति भागि गएको हुँदा सो मोटरसाइकल नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकल को सिट मुनी लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हुँदा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको मोटरसाइकल र गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले बताए।