काठमाडौं ,१३ कार्तिक । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरिएको छ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले सञ्चारमाध्यम र पत्रकारको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि चुनौती थपेको काउन्सिलको ठहर छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भएमा वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। समाचार सामग्रीकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।
त्यसैगरी, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना पत्रकारलाई नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रको व्यावसायिक स्वतन्त्रता र सुरक्षालाई सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
