काठमाडौं ,१३ कार्तिक । नेपाल–भारत सीमा नाकालाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सीमा क्षेत्रमा सहायता कक्ष विस्तार गर्ने सहमति भएको छ। वैधानिक रूपमा आवतजावत गर्ने यात्रुलाई सहजता प्रदान गर्नुका साथै सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा नेपाल र भारतका सुरक्षा निकायबीच सहकार्य थप सुदृढ गर्ने निर्णय गरिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघल, आईपीएसको नेतृत्वमा नेपाल–भारतका सुरक्षा निकाय तथा सम्बन्धित मन्त्रालय र विभागका उच्च पदाधिकारीहरूको सहभागितामा काठमाडौंमा सम्पन्न १०औँ समन्वय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा अघिल्लो समन्वय बैठकमा भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोकथामका लागि रणनीतिक, अपरेशनल तथा कार्यक्षेत्र तहमा समन्वय बढाउने र आवश्यक सूचना शीघ्र आदानप्रदान गर्ने सहमति भएको छ।
त्यसैगरी, नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा हुने अतिक्रमण नियन्त्रण, सीमा स्तम्भहरूको मर्मत तथा उचित व्यवस्थापन, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाको सामना र आधुनिक प्रविधिमा आधारित स्मार्ट सीमा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।
बैठकले सीमा क्षेत्रमा हुन सक्ने प्राकृतिक विपद् तथा अन्य आपत्कालीन अवस्थाको प्रभावकारी सामना गर्न संयुक्त विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्ने, सुरक्षा अधिकारीहरूबीच तालिम तथा अनुभव आदानप्रदान गर्ने विषयलाई समेत विशेष प्राथमिकता दिएको छ।
यसैगरी, सीमावर्ती नाकाबाट आवतजावत गर्ने वैधानिक यात्रुलाई अनावश्यक झन्झटबिना सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने निर्णय गरिएको छ। संयुक्त सांस्कृतिक तथा खेलकुद गतिविधिमार्फत दुई देशका सुरक्षा निकायबीच आपसी विश्वास, सद्भाव र संस्थागत सम्बन्ध थप मजबुत बनाउने विषयमा समेत सहमति जुटेको छ।
नेपाल–भारतबीचको खुला सीमालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैधानिक आवागमनलाई सहज तथा अवैध गतिविधिलाई निरुत्साहित गर्ने लक्ष्यसहित सम्पन्न बैठकले द्विपक्षीय सुरक्षा सहकार्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
बैठकमा आगामी ११औँ समन्वय बैठक भारतमा आयोजना गर्ने सहमति समेत भएको छ।
