रसीद आलम ,बिरगंज ,९ जेठ ।
बिल बिजक भन्दा बढी हार्डवेयर तथा औषधी लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बेलुका ३:३० बजेको समयमा बिलविजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू बोकेको मालबाहक ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ भारतिय दुतावास स्थित सडकखण्डबाट ना.६ ख २९०६ नम्बरको ट्रक पक्राउ गरेको छ।
ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा औषधी सामानहरु लोड रहेको तथा सो विलबिजक संकास्पद देखिएको हुँदा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सो ट्रकमा ५१ लाख ८४ हजार २ सय ५२ रुपैयाँ बराबरको हार्डवेयर तथा औषधी सामानहरु लोड रहेको पर्सा प्रहरीले जनाएको छ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
