बिरगंज, १४ कार्तिक ।
पर्सा प्रहरीले हराएको सुनका गरगहाना र नगद रकम फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ।

वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोलकी ४७ वर्षीया रोशनी मानन्धरले मिति २०८२।०७।१२ गते इ–रिक्शामा यात्रा गर्ने क्रममा आफ्नो लेडिज पर्स छुटाएको जानकारी दिएकी थिइन्। उक्त पर्समा सुनको सिक्री लकेट सहित १ थान, कानको टप २ थान, बाला १ थान गरी जम्मा २.५ तोलाको सुनका गरगहना र नगद रु. ४०० रहेको थियो।
घटनापछि निवेदक मानन्धरले प्रहरीमा निवेदन दिएपछि पर्सा प्रहरीले सीसीटीभी फुटेजको सहायताले इ–रिक्शा र सम्बन्धित सामग्रीको खोजतलास गरेको थियो। खोजतलासका क्रममा पर्समा रहेका सम्पूर्ण गरगहना र नगद सुरक्षित अवस्थामा फेला पारी धनीलाई बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले इमानदार नागरिक र सीसीटीभी प्रविधिको सहयोगबाट हराएको सामान फेला पार्न सकिएको जनाउँदै, सर्वसाधारणलाई हराएको सामान तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
