वीरगञ्ज,११ कार्तिक । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको प्रभावका कारण मधेश प्रदेशसहित विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी तथा मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रशासनले पूर्वतयारीमा जुट्न सबै सरोकारवालालाई अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको छ। यसको प्रभाव आगामी कार्तिक ११ गतेदेखि नेपालको भूभागमा पर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
विशेषगरी कार्तिक १२ गते बिहीबार रातिदेखि कार्तिक १४ गते शनिबारसम्म मधेश प्रदेशलगायतका क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनले कार्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन सर्वसाधारण, कृषक, यातायात व्यवसायी तथा सुरक्षा निकायलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ।
धानबाली सुरक्षित गर्न कृषकलाई आग्रह
सम्भावित वर्षा र हावाहुरीबाट पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले कृषकलाई कार्तिक १२ गते बिहीबारअघि नै धान काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य सम्पन्न गर्न प्रशासनले अनुरोध गरेको छ। उक्त अवधिभित्र कृषि कार्य सम्पन्न गर्न सम्भव नभए जोखिमपूर्ण मौसमको समयमा कृषि कार्य स्थगित गर्न पनि आग्रह गरिएको छ।
चक्रवातको प्रभावले सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न प्रशासनले सुझाव दिएको छ। यात्रा गर्नुपर्ने अवस्था आएमा मौसमको अवस्था बुझेर र आवश्यक सावधानी अपनाएर मात्रै घरबाट निस्कन आग्रह गरिएको छ।
नदी तथा खोलाको तटीय क्षेत्रमा विशेष सतर्कता
सम्भावित भारी वर्षाका कारण जिल्लाका साना तथा ठूला खोला र नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरेनजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप चनाखो रहन प्रशासनले आग्रह गरेको छ। सम्भावित विपद्को जोखिम देखिएमा सुरक्षित स्थानतर्फ सर्न तथा आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र चेतावनीलाई गम्भीरतापूर्वक लिन पनि अनुरोध गरिएको छ।
विपद्का बेला यी नम्बरमा सम्पर्क गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले मौसम, बाढी तथा विपद्सम्बन्धी जानकारी र सहायता लिन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
- ११५५ — वर्षा तथा बाढीसम्बन्धी जानकारी
- १२३४ — विपद्का बेला सहयोग माग्न
- १०० — नेपाल प्रहरी
- १११४ — सशस्त्र प्रहरी बल, नेपाल
प्रशासनले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा प्राप्त गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।
सम्भावित चक्रवातको प्रभावबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न समयमै पूर्वतयारी अपनाउन, अनावश्यक जोखिम नलिन र आधिकारिक सूचनाको पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
