सार्वजनिक बिदाको दिन पनि स्मार्ट लाइसेन्स कार्ड वितरण गर्दै यातायात व्यवस्था कार्यालय वीरगञ्ज

समाचार

वीरगञ्ज, साउन ६ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्साले सार्वजनिक बिदाको दिनसमेत सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) वितरण गर्ने भएको छ।

कार्यालयले सूचना जारी गर्दै विगतमा जारी भएका नयाँ, थप, नवीकरण तथा प्रतिलिपि गरी १ लाख २४ हजार ८१६ थान स्मार्ट कार्ड एकैपटक प्राप्त भएको जानकारी दिएको छ। सीमित जनशक्तिबाट सबै कार्ड एकैपटक वितरण गर्न कठिन भएकाले सेवालाई व्यवस्थित बनाउन अंग्रेजी वर्णमालाका आधारमा कार्ड वितरण तालिका लागू गरिएको कार्यालयले जनाएको छ।


सूचनाअनुसार A, B, C बाट नाम सुरु हुने सेवाग्राहीले सोमबार, D, E, F, G ले मंगलबार, H, I, J, K ले बुधबार, L, M, N, O ले बिहीबार, P, Q, R ले शुक्रबार, S, T ले शनिबार तथा U, V, W, X, Y, Z बाट नाम सुरु हुनेहरूले आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म स्मार्ट कार्ड लिन सक्नेछन्।

कार्यालयले स्मार्ट कार्ड लिन आउँदा सक्कल रसिद वा सक्कल सवारी चालक अनुमतिपत्र, नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउन आग्रह गरेको छ। कार्ड हराएको अवस्थामा ट्राफिक प्रहरीको सिफारिससमेत आवश्यक पर्ने जनाइएको छ।

त्यस्तै, लाइनमा बस्नुअघि कार्यालयको आधिकारिक फेसबुक पेज license.narayani मा अपलोड गरिएको लिंकमार्फत आफ्नो लाइसेन्स नम्बर, नाम/थर र बक्स नम्बर यकिन गर्न पनि सेवाग्राहीलाई अनुरोध गरिएको छ। तोकिएको तालिका र आफ्नो पालो बाहेक अन्य दिन आएमा कार्ड वितरण गर्न कार्यालय बाध्य नहुने स्पष्ट गरिएको छ।

कार्यालयका सूचना अधिकारी टेक विक्रम शाहका अनुसार हाल करिब २ लाख स्मार्ट कार्ड वितरणको प्रक्रियामा रहेका छन्। विदेश रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि तत्काल विदेश जानुपर्ने सेवाग्राहीलाई पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा प्राथमिकताका साथ स्मार्ट कार्ड उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए।

कार्यालयले सेवाग्राहीको सहजता, भीड व्यवस्थापन तथा छिटो सेवा प्रवाहका लागि सार्वजनिक बिदाको दिनसमेत कार्ड वितरणलाई निरन्तरता दिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *