स्वच्छ र सुरक्षित खानेपानी जनताको मौलिक अधिकार:खानेपानी मन्त्री प्रदीप यादव

समाचार

रसीद आलम

इलाम, जेठ २० । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले इलामको हरित भूमि कन्याममा आयोजना गरेको कन्याम–पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनु भएका खानेपानी मन्त्री प्रदीप यादवले देशका प्रत्येक नागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज पहुँचमा पुर्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो।

मन्त्री यादवले भन्नुभयो, “देशका प्रत्येक नागरिकले स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज रूपमा पाउनुपर्छ भन्ने मेरो दृढ विश्वास हो। यस अभियानमा म इलामको हरित भूमि, कन्यामको माटो टेक्दै दुर्गम बस्तीका जनताको समस्या सुन्न र समाधानको बाटो पहिल्याउन आएको हुँ।”

विगतका वर्षहरूमा बजेटको अभावले अधुरा रहेका योजनाहरू अब पूर्णरूपमा कार्यान्वयन गरिने मन्त्री यादवले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो अथक प्रयासले यस वर्ष खानेपानी मन्त्रालयको बजेटमा वृद्धि भएको छ, जुन अभियानको सफलताका लागि महत्वपूर्ण खुड्किलो सावित हुनेछ।”

मन्त्री यादवले दीर्घकालीन रूपमा खानेपानीका समस्या समाधान गर्ने आफ्नो प्रयास निरन्तर रहने बताउँदै आगामी दिनहरूमा नयाँ योजना सुरु गर्ने र अधुरा रहेका योजनाहरू पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप स्पष्ट पार्नुभयो, “अबका दिनमा नयाँ योजनाहरू सुरु हुनेछन्, अधुरा योजनाहरू पूरा हुनेछन्, र जनताले सहज र भरपर्दो खानेपानी सेवा पाउनेछन् भन्नेमा म पूर्ण विश्वासका साथ अघि बढेको छु।”

कार्यक्रममा इलामका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी, तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैलाई मन्त्री यादवले धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “जनताको सेवा नै मेरो धर्म हो, जनताको विश्वास नै मेरो शक्ति हो।”

खानेपानी मन्त्रालयले आगामी वर्षमा पनि जनताको सरोकारका विषयमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री यादवले दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *