पर्सा, जेठ २० ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको करिब रु. ७,३९,९५० बराबरको विभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
त्यस्तै, प्र.सी.सु. गुल्म वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–२५, बहुअरी चोकबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त गाडीमा ब्रोइलर कुखुरा लोड गरिएको पाइयो। सो गाडीमा ब्रोइलर कुखुराको बिल, VCTS तथा भेटेरिनरी प्रमाणपत्र नभएको पाइएको थियो।
गाडी चालकले गाडीलाई बाटोमै बेवारिसे अवस्थामा छोडी भागेपछि सो गाडीलाई नियन्त्रणमा लिई भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइएको रु. १,८४,००० बराबरको ब्रोइलर कुखुरासहित उक्त गाडीको रु. २५,००,००० भन्सार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसका साथै, सोही गुल्मले विभिन्न सीमा नाकाबाट रु. २,७३,१६० बराबरको मोबाइल तथा इलेक्ट्रोनिक सामानहरू समेत नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।
यसरी सशस्त्र प्रहरीले हालसम्म रु. ३५ लाखभन्दा बढीको सामान तथा गाडी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
