पर्सा, जेठ २०।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र संख्या ७३११, मिति २०८२।०२।१९ का अनुसार जनपदतर्फका प्रहरी बरिष्ठ हवल्दार पदबाट सहायक निरीक्षक पदमा बढुवा भएका प्रहरी सहायक निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गरिएको छ।
यस अवसरमा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरी सहायक निरीक्षक सोहन प्रसाद यादव, महमद राजा हुसेन, प्रमोद प्रसाद यादव, देवेन्द्र राय यादव र सुदामा प्रसाद यादवलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभयो।
कार्यक्रममा उहाँले पदोन्नतीसँगै थपिएको दायित्व र जिम्मेवारीलाई नयाँ ऊर्जा र प्रतिबद्धतासहित निर्वाह गर्न निर्देशन दिनुभयो। साथै, सम्पूर्ण प्रहरी कर्मचारीहरूले अनुशासन र प्रहरी आचारसंहिताको पालन गर्दै कार्य सम्पादनमा टीमवर्कलाई विशेष प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो।
