पर्सा प्रहरीका एसपी पाठकको लागुऔषध नियन्त्रण अभियानमा ठूलो सफलता,७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

समाचार

रसीद आलम

बीरगञ्ज, २६ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जिल्लाभर सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाएपछि पछिल्ला दिनमा लगातार उल्लेखनीय सफलताहरू प्राप्त भएका छन्। अपराध नियन्त्रण, युवापुस्तालाई लागुऔषधको खतराबाट जोगाउने र समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यमार्फत अघि बढाइएको अभियानको प्रभाव बढ्दै गएको छ। यही अभियानअन्तर्गत प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ भने यस प्रकरणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने क्रममा, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मंसिर २३ गते साँझ ६ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमाचोकमा विशेष निगरानी सञ्चालन गरेको थियो।

गतिविधि शंकास्पद देखिएपछि बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको EV गाडीलाई रोकी कानुनी प्रक्रिया पूरा गर्दै जाँच गरिएको थियो। जाँचका क्रममा रातो र गुलाबी रंगको दुईवटा सुटकेशभित्र Tramadol Hydrochloride Capsules IP का ६०,५३० थान क्याप्सुल भेटिएपछि सुटकेश बोकेर आएका दुई व्यक्तिलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो।

उनहरूका बयान र थप अनुसन्धानका आधारमा प्रहरी टोलीले वीरगञ्ज–२४ रामगढवामा लिइएको एक डेराकोठामा छापा मार्दा एक कार्टुनभित्र लुकाइएको १५,६४० थान ट्रामाडोल क्याप्सुल फेला पारेको छ। यसरी विभिन्न स्थानबाट प्राप्त बरामद क्याप्सुलको संख्या जम्मा ७६,१७० थान पुगेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू

१. यूवराज पटेल, २० वर्ष, वीरगञ्ज–२४, रामगढवा
२. अफजल देवान, २१ वर्ष, वीरगञ्ज–२४, रामगढवा
३. रामहरि मगर, १९ वर्ष, बेनिघाट रोराङ–६, धादिङ
४. राजकुमार मगराती, १९ वर्ष, सिदलेख–७, धादिङ

बरामद सामग्री

  • Tramadol Hydrochloride Capsules IP – ७६,१७० थान

 

लागुऔषध दुव्र्यसनले समाजमा पार्ने गम्भीर असर

लागुऔषध दुव्र्यसनले समाजमा अनेक प्रकारका विकृति निम्त्याइरहेको पर्सा प्रहरीले जनाएको छ।
अपराधमा वृद्धि

  • चोरी, लुटपाट, हिंसा, तस्करी तथा आपराधिक समूहमा संलग्नता
  • नशालाई खरिद–बिक्री गर्ने गैरकानुनी नेटवर्कको विस्तार

सामाजिक विकृति र असुरक्षा

  • समाजमा अविश्वास, डर र असुरक्षाको वातावरण
  • युवापुस्तालाई गलत बाटोतर्फ धकेल्दै सामाजिक संरचना कमजोर पार्ने अवस्था

युवा पुस्तामा गम्भीर असर
मानसिक स्वास्थ्यमा हानि

  • चिन्ता, डिप्रेसन, क्रोध, अस्थिर व्यवहार, भ्रम तथा मानसिक रोगको जोखिम
  • अध्ययनमा ध्यान केन्द्रित गर्न कठिनाइ तथा शैक्षिक क्षमतामा गिरावट
  • आत्महत्याको जोखिम वृद्धि

एसपी सुदिप राज पाठकको नेतृत्वमा पर्सा प्रहरीले सञ्चालन गरिरहेको अभियानले जिल्लामा लागुऔषधको पहुँच घटाउने, गैरकानूनी नेटवर्क ध्वस्त पार्ने र सामाजिक सुरक्षा प्रणाली सुदृढ बनाउने दिशामा महत्वपूर्ण प्रभाव पारेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *