पर्सा, २६ मंसिर ।
करिब १९ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अखिर पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले मंसिर २४ गते वीरगन्ज महानगरपालिका–२१ स्थित सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०६३/०६/०५ गते बिहान १०:४५ बजे पर्साको लिपनी बिर्ता–८ पटेलनगरका वर्ष २३ का सुरेश उर्फ रामप्रसाद पटेलमाथि निर्घात कुटपिट गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका अभियुक्त वर्ष ५४ का विनोद पटेल उर्फ विनोद प्रसाद कुर्मी १९ वर्षदेखि फरार रहेकाले उनकै खोजी हुँदै आएको थियो।
घटनाको दिन उनले सिर्सिया नदीको डिलमा सुरेशलाई कुटपिट गरी ज्यान मारेको प्रहरीले जनाएको छ। फरार रहेका उनी पछिल्ला वर्षहरूमा परवानीपुरस्थित एक कम्पनीमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
फरार अभियुक्तलाई पक्राउ गरिएको पुष्टि गर्दै पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको जानकारी दिए।
पक्राउ परेका व्यक्ति
१. विनोद पटेल (विनोद प्रसाद कुर्मी), ५४ वर्ष, बसोबास– बहुदरमाई नगरपालिका–२, पर्सा।
