वीरगञ्ज, १८ कार्तिक ।
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले पर्सा जिल्लास्थित विभिन्न सशस्त्र प्रहरी युनिटहरूको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उहाँले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. वीरगञ्ज पर्सामा पुगेर कार्यालयका विभिन्न शाखाहरूको कार्यप्रगति, सेवा प्रवाह र सुरक्षासम्बन्धी गतिविधिहरूको अवलोकन गर्नुभएको हो।
कार्यक्रमका क्रममा गणपति प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले कार्यालयका विभिन्न शाखाहरूबाट सम्पादित कार्यहरूको विस्तृत तथ्यांकसहितको प्रतिवेदन प्रस्तुत गर्दै सशस्त्र प्रहरीको कार्यदक्षता, अनुशासन र स्थानीय समन्वयमा भइरहेको सुधारबारे जानकारी गराएका थिए।
निरीक्षणका क्रममा डिआईजी ढकालले सशस्त्र प्रहरी बलका सदस्यहरूलाई समसामयिक सुरक्षा चुनौतीहरू, व्यावसायिक आचरण, अनुशासन र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि सम्बन्धी निर्देशन दिनुभएको एसपी भट्टले जनाए। उहाँले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र जनताप्रति निष्ठा, पारदर्शिता र सेवा भावका साथ कार्य गर्न प्रेरित गर्नुभयो।
डिआईजी ढकालले पर्सा जिल्लाको समग्र सुरक्षा अवस्था, सशस्त्र प्रहरी बलको कार्यसम्पादन, जनताको सुरक्षासँग सम्बन्धित विषयहरूमा जानकारी लिनुका साथै कार्यालय भवन र शाखाहरूको स्थलगत अवलोकन समेत गर्नुभएको थियो। उहाँले अनुशासन, पारदर्शिता र जनमुखी सेवाका माध्यमबाट सशस्त्र प्रहरी र स्थानीय जनताबीचको आपसी विश्वास अझ सुदृढ गर्न सबैलाई आह्वान गर्नुभयो।
उहाँले भन्नुभयो, “देशको सीमा सुरक्षा सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी हो। खुला सीमाका कारण मधेस प्रदेशमा तस्करी, गैरकानुनी ओसारपसार र सीमा अपराधका गतिविधिहरू बढ्ने सम्भावना रहँदै आएको छ। यी चुनौतीहरूलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीय निकाय, सुरक्षा निकाय र सिमावासी जनतासँग सहकार्य गर्दै सीमाको सुरक्षा मजबुत बनाइरहेको छ।”
डिआईजी ढकालले थप भन्नुभयो, “सशस्त्र प्रहरी बल नेपालको भूमिका केवल सीमासम्म सीमित छैन। देशभित्रका आन्तरिक सुरक्षा चुनौती, विपद् व्यवस्थापन, उद्धार तथा राहतका कार्यहरूमा समेत यो बलले उल्लेखनीय योगदान दिँदै आएको छ।”
सशस्त्र प्रहरी बल, नेपालले देशको सार्वभौमसत्ता, राष्ट्रिय हित र जनताको सुरक्षाको रक्षा गर्ने आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै इमानदारी, देशभक्ति र उच्च व्यावसायिक आचरणका साथ कार्य गर्दै आएको छ। डिआईजी ढकालको यस निरीक्षणले पर्सा जिल्लाको सशस्त्र प्रहरी संरचनामा कार्यदक्षता अभिवृद्धि, मनोबल सुदृढीकरण र जनविश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ।
