पर्सा, १८ कार्तिक ।
जिल्ला पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा टोलस्थित गौरीशंकर मन्दिर नजिकको आम्बाको बगैँचाबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कार्तिक १७ गते साँझ करिब ४:३० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाबाट महादेवपुरतर्फ जाँदै गरेका पैदल यात्रीलाई शंका लागी रोकि चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सोही गाउँपालिका–५ निचुटा टोलका भिखारी मालीका छोरा करिब २० वर्षीय धिरज माली हुन् । उनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट चार पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीसहित धिरज मालीलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
