बाराको कोल्हवीमा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, दुई जना गम्भीर घाइते

समाचार

बारा, कार्तिक २२ । बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मिति २०८३ कार्तिक २१ गते साँझ करिब ७:३० बजे तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झुरझुर, बाराबाट प्रहरी सहायक निरीक्षक राजेश दास बनियाको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा परी कोल्हवी नगरपालिका–२ निवासी मोहन मोक्तानका करिब २८ वर्षीय छोरा अमित मोक्तानको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएकोमा राति करिब ९ बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले ECG परीक्षण गर्दा मृत घोषणा गरेका थिए। उनको शव हाल नारायणी अस्पतालमै राखिएको छ।

त्यसैगरी, सोही मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका–२ निवासी सुरज तामाङका करिब २४ वर्षीय छोरा मनिष तामाङ र नरबहादुर लामाका करिब २५ वर्षीय छोरा मनोज लामासमेत घाइते भएका छन्।

दुवै घाइतेको टाउकोमा चोट लागेको र उनीहरूलाई उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनामा संलग्न मोटरसाइकल चालक को थिए भन्ने कुरा हालसम्म खुल्न सकेको छैन। दुर्घटनाको वास्तविक कारण तथा मोटरसाइकल कसले चलाइरहेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

साँझको समयमा भएको उक्त दुर्घटनाले कोल्हवी क्षेत्रमा सडक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न खडा गरेको छ। तीव्र गति, लापरवाही वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने कुरा प्रहरी अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *