वीरगञ्ज भन्सार मेनगेटबाट ५ सय किलो अवैध सयपत्री फूल बरामद, भन्सार परिसरमै खाडल खनी नष्ट

समाचार

वीरगञ्ज, २२ कात्तिक।

सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार मेनगेट क्षेत्रबाट ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको सयपत्री तथा अन्य फूल नियन्त्रणमा लिई नष्ट गरेको छ।

मिति २०८३ कात्तिक २२ गते दिउँसो १२:०० बजेको समयमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट इलाकामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म वीरगञ्जबाट खटिएको चेकपोइन्ट टोलीले नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त फूलहरू बरामद गरेको हो।

सशस्त्र प्रहरी सहायक निरीक्षक धुर्ब रायमाझीको कमान्डमा खटिएको पाँच सदस्यीय टोलीले चेकजाँचका क्रममा अन्दाजी १ लाख रुपैयाँ बराबरको ५०० केजी सयपत्री तथा अन्य फूल नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका फूलहरूलाई मिति २०८३ कात्तिक २२ गते दिउँसो १:०० बजे स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा पत्रकारहरूको रोहवरमा वीरगञ्ज भन्सार कार्यालय परिसरभित्र खाडल खनी नष्ट गरिएको थियो।

चाडपर्व तथा विशेष अवसरमा फूलको माग बढ्ने समयमा सीमावर्ती क्षेत्रबाट भन्सार प्रक्रिया पूरा नगरी फूललगायतका वस्तु भित्र्याउने गतिविधिलाई निरुत्साहित गर्न सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई निरन्तरता दिँदै आएको छ।

यस कारबाहीले सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको सक्रियता र प्रतिबद्धतालाई थप उजागर गरेको छ। सीमा नाकामा नियमित चेकजाँच, निगरानी र सूचना परिचालनलाई प्रभावकारी बनाउँदै अवैध कारोबार नियन्त्रण गर्ने अभियानलाई थप सशक्त बनाउन आवश्यक देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *