पर्सा छिपहरमाईमा सडक किनारमा युवकको शव फेला, प्रहरीद्वारा अनुसन्धान जारी

समाचार

पर्सा, १७ असोज ।
पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडक खण्डमा एक युवकको शव फेला परेको छ।

शुक्रबार बिहान झलमहिया गाउँका २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन्। भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ भएको होन्डा साइन मोटरसाइकलसहित साह सो सडक खण्डको पुल मुनि मृत फेला परेका प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति र शवको अवस्था हेर्दा सडक दुर्घटनामा मोटरसाइकलसहित पुलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। तर, मृत्युको वास्तविक कारण भने अहिलेसम्म स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। “मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ,” उनले भने।

शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *