पर्सा, २० साउन
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टद्वारा वीरगञ्जस्थित मानव सेवा आश्रमको अवलोकन भ्रमण साथै भोजन सेवा प्रदान गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्य र सेवामूलक कार्यहरूलाई निरन्तरता दिँदै आएको सन्दर्भमा एसपी भट्टको नेतृत्वमा आश्रमको स्थलगत निरीक्षण गरिएको हो। भ्रमणको क्रममा एसपी भट्टले आश्रममा आश्रय लिएका वृद्धवृद्धा, अशक्त तथा मानसिक रोगीहरूसँग आत्मीय भेटघाट गरेका थिए भने उनीहरूको अवस्थाबारे जानकारी लिंदै मानव सेवा आश्रमले गरिरहेको कार्यको उच्च प्रशंसा गरेका थिए।
उक्त अवसरमा सशस्त्र प्रहरी बलका टोलीद्वारा आश्रममा आश्रितहरुलाई निःशुल्क भोजन सेवा उपलब्ध गराइएको थियो। एसपी भट्टले आश्रम व्यवस्थापनसँग समन्वय गर्दै यस्ता सामाजिक सेवामा सशस्त्र प्रहरीको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए।
मानव सेवा आश्रमले विभिन्न कारणले असहाय बनेका व्यक्तिहरूलाई उद्धार गरी पुनःस्थापनाको प्रयास गर्दै आएको छ। सशस्त्र प्रहरीले यस्ता संस्थासँग सहकार्य गरेर समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको यो कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
स्थानीय स्तरमा सशस्त्र प्रहरीको सामाजिक सहभागिता र मानव सेवामा देखिएको सक्रियता समाजका लागि प्रेरणादायक सावित भएको मानव सेवा आश्रमका प्रतिनिधिहरूले बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका अन्य अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा आश्रमका सेवा लिने व्यक्तिहरूले भोजनसेवा प्राप्त गर्दा हर्ष व्यक्त गरेका थिए।
यसरी सुरक्षा मात्र नभई सेवा र समर्पणको भावनासँग समाजप्रतिको दायित्व निर्वाह गर्दै सशस्त्र प्रहरीले मानवतामूलक कार्यमार्फत समुदायसँगको सम्बन्ध अझ प्रगाढ बनाइरहेको देखिन्छ।
