रौतहटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

समाचार

रौतहट, २६ साउन । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिक मौलापुर–जयनगर सडकखण्डमा २०८२ साल असार ६ गते दिउँसो करिब १:४० बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार मौलापुर–३ कै अन्दाजी २० वर्षीय निरज कुशवाहा दुर्घटनामा घाइते भएका थिए। उनको उपचारका क्रममा २०८२ साल माघ १७ गते बिहान १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा २०८३ साल साउन २५ गते मोटरसाइकल चालक वडाध्यक्ष महेश महतो कोइरी र अर्का मोटरसाइकल चालक त्रिकिशोर कुशवाहालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनामाथि घटनाको वास्तविकता तथा दुर्घटनामा भएको मानवीय क्षतिको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *