वीरगञ्ज ,५ मंसिर । सशस्त्र प्रहरी परिवार महिला संघले सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य, शिक्षा तथा सामाजिक कल्याणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमबाट सयौँ नागरिक लाभान्वित भएका छन्।
मिति २०८३ मंसिर ५ गते सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गरिएको हो।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी जैशीको प्रमुख आतिथ्यतामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३३१ जना सीमावासी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए। सोही अवसरमा ४१ जनाले रक्तदान गरी मानवीय सेवामा समेत योगदान पुर्याएका छन्।

कार्यक्रमअन्तर्गत शिक्षाको पहुँच र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। यस पहलले आर्थिक तथा शैक्षिक स्रोतसाधनको अभावमा रहेका विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै वीरगञ्ज महानगरपालिका–२५ स्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि विशेष सहयोग कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। आश्रममा रहेका करिब ६० जनालाई भोजन गराउनुका साथै १०० जनालाई साडी तथा २०० जनालाई कम्बल र झुल वितरण गरिएको थियो।
स्वास्थ्य सेवा, रक्तदान, शैक्षिक सामग्री वितरण तथा असहाय र आश्रित व्यक्तिलाई आवश्यक सामग्री सहयोग गर्ने कार्यमार्फत सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतारेको देखिएको छ।
सीमावर्ती क्षेत्रका नागरिकसँग सुरक्षा निकायको सम्बन्धलाई अझ आत्मीय, विश्वासिलो र सहयोगात्मक बनाउने उद्देश्य बोकेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले सुरक्षा प्रदान गर्ने दायित्वसँगै नागरिकको सुखदुःखमा साथ दिने मानवीय पक्षलाई समेत उजागर गरेको छ।
सीमावासी नागरिकको स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारमा सहयोग पुर्याउने यस्ता कार्यक्रमले सुरक्षा निकायप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास सशस्त्र प्रहरी बल, नेपालले व्यक्त गरेको छ।
