बारा ,४ मंसिर । सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लाको छतवा सीमा नाकाबाट ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमान्डमा खटिएको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरी अवैध रूपमा ओसारपसार भइरहेको औषधि तथा चिनी बरामद गरेको हो।
सशस्त्र प्रहरी टोलीले छतवा सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको उक्त सामानको अनुमानित मूल्य १३ लाख ८९ हजार रुपैयाँ रहेको जनाइएको छ।
सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा बरामद गरिएका औषधि, चिनी तथा मोटरसाइकलसहितका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको छ। विशेषगरी खुला सीमा क्षेत्रको दुरुपयोग गर्दै मोटरसाइकलमार्फत हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता बढाएको देखिन्छ।
सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमान्डमा गरिएको यस कारबाहीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण तथा राजस्व संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
सीमा सुरक्षालाई थप मजबुत बनाउँदै तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर नियमित निगरानी, गस्ती तथा विशेष अपरेसनलाई निरन्तरता दिनुपर्ने स्थानीयको अपेक्षा छ।
