पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

समाचार

वीरगञ्ज, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष निगरानी तथा सूचनाका आधारमा कारबाही गर्दै १०५ किलो लागुऔषध गाँजा बरामद गरेको हो।

गाँजासहित पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्।

संयुक्त प्रहरी टोलीले सोनबर्सा क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका चौधरीलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका चौधरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

पर्सा प्रहरीले पछिल्लो समय जिल्लाको ग्रामीण तथा सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र विशेष अभियानलाई तीव्रता दिएको छ। भारतसँग सीमा जोडिएको पर्सा हुँदै विभिन्न प्रकारका लागुऔषध ओसारपसार हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सीमा क्षेत्र, ग्रामीण सडक तथा शंकास्पद आवागमन हुने स्थानमा निगरानी बढाउँदै आएको जनाएको छ।

यस घटनामा बरामद १०५ किलो गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी थियो तथा कारोबारमा अन्य व्यक्तिहरूको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका चौधरीविरुद्ध लागुऔषधसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *