खुल्ला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषध ओसारपसार र तेस्रो मुलुकको अवैध घुसपैठ नियन्त्रणमा कुनै सम्झौता हुँदैन : सशस्त्रका डीएसपी भण्डारी

समाचार

बिरगंज, १० पुस ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजले सीमावासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले खुल्ला सीमाको दुरुपयोग गरी हुने लागूऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारे।

डीएसपी भण्डारीले भारत–नेपाल खुल्ला सीमाको प्रयोग गरी तेस्रो मुलुकका नागरिक, विशेषगरी रोहिङ्ग्या नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास बढेको जानकारी मातहतका निकायबाट आएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सीमा नाकामा कडाइ गरिएको बताए। उनले अवैध घुसपैठ, लागूऔषध ओसारपसार तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी नियन्त्रण गर्न सशस्त्र प्रहरी पूर्ण रूपमा सक्रिय रहेको बताए।

कार्यक्रममा उनले सीमावर्ती क्षेत्रमा लुकीछिपी बस्न सक्ने सम्भावित स्थानहरूको पहिचान गरी निगरानी बढाइने, शंकास्पद गतिविधिबारे स्थानीयवासीसँग निरन्तर सूचना आदान–प्रदान गरिने र सुरक्षा निकाय तथा समुदायबीच समन्वय अझ मजबुत बनाइने जानकारी दिए। अवैध गतिविधि नियन्त्रणमा स्थानीयको सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उनले कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै सुरक्षा निकायलाई जानकारी गराउन सीमावासीसँग आग्रह गरे।

त्यसैगरी, बढ्दो शीतलहरका कारण प्रभावित विपन्न तथा गरिब घरपरिवारलाई लक्षित गरी आगो बाल्ने व्यवस्था, राहत वितरण तथा मानवीय सहयोगका विषयमा पनि छलफल भएको थियो। डीएसपी भण्डारीले चिसो मौसममा जोखिममा परेका समुदायको सुरक्षाका लागि सशस्त्र प्रहरी सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग गर्न तयार रहेको बताए।

उक्त कार्यक्रम मिति २०८२।०९।१० गते बिहान करिब १०:०० बजे जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रम वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका अध्यक्ष पर्शुराम प्रसाद चौरसियाको सभापतित्वमा सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी चौकी इनर्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णकुमार बस्नेत, शिक्षक प्रतिनिधि, पत्रकार तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजना गरिएको यस अन्तरक्रियामा सीमा नाकाबाट हुने अवैध घुसपैठ नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण तथा शीतलहरबाट प्रभावित विपन्न बस्तीमा आगो बाल्ने व्यवस्थालगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमले सीमा सुरक्षा, सामाजिक सहकार्य र मानवीय सेवामा सशस्त्र प्रहरी बल नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *