बारा, १३ असोज । बाराको सिम्रौनगढ नगरपालिका–६, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी गोलागञ्जबाट खटिएको टोलीले सलेमपुर क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज बस्ने करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच राउन्ड गोली तथा हिरो कम्पनीको एक थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बाराले जनाएको छ।
हतियारसहित पक्राउ परेका कुशवाहालाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा अवैध हतियार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्राप्त सूचनाका आधारमा निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
