बाराको खुला सीमामा कडा निगरानी : चोरी–पैठारी र लागूऔषध नियन्त्रणलाई प्राथमिकता

समाचार

रौतहट, १२ असोज । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टले बाराको सीमा क्षेत्रमा हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्।

कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बारामा आइतबार साँझ आयोजित समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डीआईजी भट्टले सीमा सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायसँगै स्थानीय नागरिक, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा राजनीतिक दलको सहकार्य अपरिहार्य रहेको बताए।

बारामा करिब ६० किलोमिटर खुला सीमा रहेकाले सीमा अपराध तथा अवैध गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले संवेदनशील नाकामा निगरानी थप कडा बनाइने बताए। उनका अनुसार मटिअर्वा नाका लागूऔषध ओसारपसारका दृष्टिले संवेदनशील क्षेत्रका रूपमा देखिएको छ।

“सबैभन्दा बढी ड्रगिस्ट हिँड्ने ठाउँ मटिअर्वा हो,” डीआईजी भट्टले भने।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाउनुका साथै सीसीटीभीको व्यवस्थापन, सूचना संयन्त्र सुदृढीकरण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगको समन्वयलाई थप प्रभावकारी बनाइने उनले बताए।

प्रमाणसहित सूचना दिन आग्रह

डीआईजी भट्टले सीमा क्षेत्रमा हुने अवैध गतिविधिबारे सुनेको वा अनुमानका आधारमा नभई प्रमाणसहित सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गरे। नागरिकबाट प्राप्त सूचनाले सीमा अपराध, लागूऔषध कारोबार, चोरी–पैठारी तथा अन्य अवैध गतिविधिमाथि निगरानी बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

उनले सशस्त्र प्रहरीभित्रको आन्तरिक शुद्धीकरण र अनुशासनलाई समेत प्राथमिकतामा राखिएको बताए। सीमा क्षेत्रमा खटिएका कर्मचारीमाथि अनियमितताको सूचना आए प्रमाणका आधारमा कारबाही गरिने उल्लेख गर्दै उनले बारामा गलत कार्यमा संलग्न केही सशस्त्र प्रहरी कर्मचारीमाथि कारबाही गरिएको जानकारी दिए।

“हामीले एक रुपैयाँ पनि खाँदैनौँ। सशस्त्र प्रहरीले पैसा मागेको वा खाएको सूचना भए प्रमाणसहित दिनुहोस्,” उनले भने।

सीमा स्तम्भदेखि अनधिकृत संरचनासम्म निगरानी

डीआईजी भट्टले सीमा स्तम्भको अभिलेख राख्ने, आवश्यक मर्मतसम्भार गर्ने तथा सीमा क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यलाई पनि प्राथमिकतामा राखिएको बताए। सीमावर्ती बस्तीका नागरिकको सुरक्षा र उनीहरूको समस्यालाई सम्बोधन गर्नसमेत सुरक्षा निकाय गम्भीर रहेको उनले बताए।

अन्तरक्रियामा सहभागी उद्योगी–व्यवसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले सीमावर्ती भारतीय बजारबाट सामान भित्रिँदा स्थानीय व्यापार–व्यवसायमा परेको प्रभाव, सीमा सुरक्षाका समस्या तथा व्यापार सहजीकरणका विषय उठाएका थिए। कलैया बजारमा भारतीय सामानको बिक्री बढ्दै गएको विषयसमेत छलफलमा आएको थियो।

त्यसैगरी सहभागीहरूले जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद्का समयमा सशस्त्र प्रहरीको भूमिका तथा नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।

विपद् व्यवस्थापनमा पनि तयारी

डीआईजी भट्टले नदी तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुन सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको बताए। गोताखोर टोलीको क्षमता वृद्धि गरिएको जानकारी दिँदै उनले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन र नागरिक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताए।

“सशस्त्र प्रहरी समाजमै रहेको सुरक्षा निकाय हो। नागरिकको साथ र सहयोगबिना प्रभावकारी रूपमा काम गर्न सकिँदैन,” उनले भने।

विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई कार्यसम्पादनमा समेट्दै सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि डीआईजी भट्टले व्यक्त गरे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन्जी युवा, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीहरूले जिल्लाको समग्र शान्ति–सुरक्षा तथा सीमा क्षेत्रमा देखिएका समस्याबारे डीआईजी भट्टको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न सुझाव दिएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराका प्रमुख एसपी विशाल सिलवाल, जिल्ला प्रवक्ता एवं डीएसपी विक्रममणि अधिकारीलगायतको उपस्थिति थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *