बारा,१८ असोज । सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण तथा अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ। गण मातहतका विभिन्न युनिटबाट परिचालित टोलीले चेकजाँच तथा निगरानीका क्रममा ठूलो परिमाणमा विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले गरेको कारबाहीका क्रममा रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट, डेरी मिल्क तथा स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान र पटका लगायतका सामग्री बरामद गरिएको हो।
बरामद गरिएका सम्पूर्ण सामानको कुल मूल्य रु. ९ लाख ६९ हजार १७० रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि विभिन्न नाकामा निगरानी बढाइएको र सोही क्रममा उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको पछिल्लो सक्रियतासँगै बारा जिल्लाका सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी थप कडा बनाइएको छ।
