उर्लाबारी/विराटनगर, चैत २१
मोरङ र झापामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको प्रतिबन्धित औषधि तथा लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले विशेष सूचनाको आधारमा २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधि २६ हजार ६५ पिस, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, नगद २२ हजार २ सय ७० रुपैयाँ, ३ थान मोबाइल तथा प्रदेश १–०२–०५९ प १८५९ नम्बरको स्कुटर बरामद गरिएको छ।
यसैगरी, झापाको भद्रपुर नगरपालिका–३, आँपगाछीबाट पनि लागूऔषधसहित थप २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–४ निवासी मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
