गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान : काठमाडौंमा रातभर सर्च अपरेशन, १९५ जना पक्राउ

समाचार

काठमाडौं, २१ चैत । काठमाडौं उपत्यकामा गुण्डागर्दी, ठगी तथा बिचौलिया गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनमा १९५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार शुक्रबार राति सञ्चालन गरिएको अभियानअन्तर्गत उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल तथा बुढानीलकण्ठ लगायतका क्षेत्रबाट गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।
एसएसपी थापाले सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, दुःख हैरानी दिने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्राथमिकताका साथ नियन्त्रणमा लिइएको जानकारी दिए।

“ठमेल, विमानस्थल लगायतका क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती तान्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न तथा बिचौलिया गतिविधि गर्ने १९५ जनालाई नियन्त्रणमा लिएका छौं,” उनले भने।

सरकार परिवर्तनपछि सुरक्षा निकाय सक्रिय बन्दै गएको सन्दर्भमा प्रहरीले गुण्डागर्दी नियन्त्रणलाई विशेष प्राथमिकतामा राख्दै अभियान अघि बढाएको जनाएको छ। यस अभियानमा जिल्ला प्रहरी परिसर काठमाडौंसँगै अपराध अनुसन्धान कार्यालयको समेत समन्वय रहेको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति मात्र उपत्यकाका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ र किमजोङ बोस लगायत रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी परिसर काठमाडौंले पनि विभिन्न क्षेत्रमा सक्रिय समूहका ४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा श्याम लामा समूहसँग आबद्ध प्रविण गुरुङ, बाफल क्षेत्रका बिर्जु महर्जन, कलंकीका सुनज कार्की तथा स्युचाटारकी सरु हुमागाईं रहेका छन्।
प्रहरीले पछिल्लो समय सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियामाथि समेत निगरानी बढाएको जनाएको छ। सेवाग्राहीलाई दुःख दिने, छिटो काम गरिदिने भन्दै आर्थिक लाभ लिन खोज्ने गतिविधि बढेको गुनासो आएपछि यस्तो अभियान तीव्र बनाइएको हो।

यसै क्रममा काठमाडौंका विभिन्न टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूमाथि पनि कारबाही गरिएको छ। सर्वसाधारण यात्रुहरूलाई जबरजस्ती सवारी साधनमा चढाउन दबाब दिने, झोला तान्ने तथा अभद्र व्यवहार गर्ने १३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नयाँ बसपार्क क्षेत्रबाट १२ जना तथा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कलंकी सडक खण्डबाट १ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, उपत्यकामा शान्ति सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिइने पनि प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *