( दुध बोक्नेले बोके कोकिन , परे प्रहरीको फन्दामा)
बारा, ११ मंसिर ।
जिल्ला बारा बिश्रामपुर गाउँपालिका–१ खेखरिया स्थितबाट प्रहरीले २१ ग्राम ६५० मिलिग्राम लागूऔषध कोकिन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AV 3532 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि दूध बोक्नेगरी बनाइएको फलामे साँचोमुनि जुटको बोरामा १९ वटा सेतो प्लास्टिकका प्याकेटमा लुकाइ–छिपाइ ल्याइराखिएको कोकिन बरामद गरिएको हो। लागूऔषधसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बारा प्रहरी प्रवक्ता डीएसपी विजय राज पण्डितले जानकारी दिए।
पक्राउ परेका व्यक्ति :
भारत, पूर्वी चम्पारण, बिहार नायकटोलका करीब ३५ वर्षीय लाल बाबु साह (मोटरसाइकल चालक)
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
