बारा ,५ कार्तिक । बाराको जितपुरस्थित नहरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका–७, जितपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा स्थानीय ५६ वर्षीय हरिनारायण सहनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक ४ गते बिहान करिब ६ बजे सहनीका छोरा राम विनय सहनीले नहरमा आफ्ना बुबालाई मृत अवस्थामा देखेका थिए। उनले तत्काल शवलाई नहरबाट निकालेर नहरको डिलमा राखी बिहान ६ः२० बजे इलाका प्रहरी कार्यालय जितपुर, बारामा घटनाबारे जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्दै आवश्यक प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
त्यसैगरी, घटनास्थलको मुचुल्का तथा अन्य प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा SOCO सहित पाँच जनाको टोलीसमेत खटिएको थियो।
प्रहरीले बिहान करिब ८ः१५ बजे घटनास्थलको प्रारम्भिक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो। शव परीक्षण सम्पन्न भएपछि बिहान ११ः२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको प्रहरीले जनाएको छ।
सहनीको मृत्यु कसरी भयो भन्नेबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ।
