पर्सा, फागुन २ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिस फिट्टे सडकखण्डमा लागू औषध चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको टोलीले नियमित जाँचका क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरी सहायक निरीक्षक राजु पारखिनको नेतृत्वमा खटिएको टोलीले नेपाल-भारत सीमामा सवारी साधन तथा पैदलयात्रीहरूको चेकजाँच गर्ने क्रममा सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ४, मधुवनगोठ निवासी ४५ वर्षीय सुधिर कर्णलाई पक्राउ गरेको हो।
उनले बोकेको रातो रंगको डिब्बा (ग्यालेन) भित्र घ्यू राखेर लुकाइछिपाई ल्याइएको लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सुवास भट्टले जानकारी दिए। प्रहरीले उक्त डिब्बाभित्र १२ केजी र डिब्बा/प्लास्टिकबिनाको ११ केजी ५०० ग्राम लागू औषध जस्तो देखिने पदार्थ बरामद गरेको छ।
पक्राउ परेका सुधिर कर्णलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
