पर्सा ,३० भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले पर्सा जिल्लास्थित सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसहरूको निरीक्षण भ्रमण गर्दै सीमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
डीआईजी भट्टले भदौ ३० गते पर्साका विभिन्न सीमा सुरक्षा इकाइहरूको निरीक्षण भ्रमण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षा, परिचालनको अवस्था तथा मातहतका इकाइबाट भइरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो।
चाडपर्व नजिकिँदै जाँदा सीमा क्षेत्रमा चोरी–पैठारी, तस्करी तथा अन्य गैरकानुनी गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै डीआईजी भट्टले मातहतका कमाण्डर तथा सशस्त्र प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभयो।
उहाँले सीमा क्षेत्रमा निगरानी, नियमित गस्ती तथा चेकजाँचलाई थप कडाइ गर्दै अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। साथै, सीमा सुरक्षालाई अझ मजबुत बनाउन सूचना संकलन र प्राप्त सूचनाको प्रभावकारी परिचालनमा विशेष ध्यान दिन समेत उहाँले निर्देशन दिनुभयो।
चाडपर्वको समयमा सीमापार आवतजावत तथा आर्थिक गतिविधि बढ्ने भएकाले सम्भावित चोरी–तस्करी, अवैध ओसारपसार र अन्य सीमा अपराध नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन डीआईजी भट्टले मातहतका सुरक्षा इकाइहरूलाई स्पष्ट निर्देशन दिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप सजग, अनुशासित र व्यावसायिक भएर कार्यसम्पादन गर्नसमेत निर्देशन दिनुभएको बताइएको छ।
