मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाएर चरेसजस्तो पदार्थ तस्करी, भारतीय नागरिक पक्राउ

समाचार

वीरगञ्ज, भदौ ३०। पर्सामा मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाएर ल्याइएको करिब ९ किलो ५ सय ग्राम चरेसजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सीमा क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।

जाँचका क्रममा मोटरसाइकलको इन्धन ट्याङ्कीभित्र फल्स बटम बनाई २१ वटा पोकामा लुकाएर राखिएको अवस्थामा अन्दाजी ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एक थान मोबाइल र बरामद पदार्थसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद पदार्थ, मोटरसाइकल र अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले घटनाबारे जानकारी दिएका हुन्।

यस घटनाले सीमापारिबाट लागूऔषध भित्र्याउन तस्करहरूले अपनाइरहेका नयाँ र गोप्य शैलीप्रति सुरक्षा निकायको निगरानी थप कडा बनाइएको संकेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *