हेटौंडामा ४० लाखभन्दा बढीको अवैध चाँदी बरामद, दुई महिलासहित चार जना पक्राउ

समाचार

(कारको डिक्कीमा फल्स बटम बनाएर १४ किलो १८० ग्राम चाँदी तस्करी, थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार पठाइयो)

हेटौंडा ,९ कार्तिक । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका चाँदीका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा ४० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चाँदी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ साल कात्तिक ८ गते दिउँसो करिब ३:१५ बजे रातोमाटे चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा.३ च. ७०७९ नम्बरको कारबाट भन्सार छली गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्काहरू फेला परेका थिए।

प्रहरीले कारको डिक्कीभित्र फल्स बटम (नक्कली तह) बनाएर चाँदीका गरगहना तथा सिक्काहरू लुकाइछिपाइ ओसारपसार गरिएको अवस्थामा बरामद गरेको जनाएको छ। बरामद चाँदीको कुल तौल १४ किलो १८० ग्राम रहेको छ भने त्यसको अनुमानित मूल्य ४० लाख ६९ हजार ६६१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

दुई महिलासहित चार जना पक्राउ

अवैध चाँदी ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा भारतको रक्सौल, मोतिहारी निवासी ५० वर्षीय रमेश कुमार साह सोनार, ४२ वर्षीया चन्दा देवी सोनार, १८ वर्षीय अजित साह सोनार र २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनालाई चाँदी तथा ओसारपसारमा प्रयोग गरिएको कारसहित आवश्यक कारबाही र थप अनुसन्धानका लागि वीरगञ्जस्थित भन्सार कार्यालय, पर्सामा पठाएको जनाएको छ।

### तस्करी नियन्त्रणमा प्रहरीको निगरानी

सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी विभिन्न वस्तु ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्ने क्रममा प्रहरीले सवारीसाधनको नियमित चेकजाँचलाई तीव्रता दिँदै आएको छ। कारको डिक्कीमा नक्कली तह बनाएर चाँदी लुकाइएको घटनाले अवैध सामान ओसारपसारमा अपनाइने नयाँ तरिकासमेत उजागर गरेको छ।

यस घटनामा बरामद गरिएको चाँदीको स्रोत, भन्सार छलीको प्रकृति तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान हुने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले उक्त घटनाबारे जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *