रसीद आलम
बारा, ३१ जेठ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइटबाट सशस्त्र प्रहरीले झन्डै ३९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराको टोलीले विशेष सूचनाको आधारमा चोरी पैठारी गरिएका मोबाइलका विभिन्न पार्ट्स फेला पारेको हो। बरामद सामग्रीको मूल्य करिब ३९ लाख १२ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
मोबाइल पार्ट्सहरू अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइएको आशंका गरिएको छ। सशस्त्र प्रहरीको टोलीले आवश्यक प्रक्रिया पुर्याएर उक्त सामग्रीहरू बिरगंज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल बाराका अनुसार सीमावर्ती क्षेत्रहरूबाट हुने चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानी कार्य तीव्र पारिएको छ। यस प्रकारको सफलता सशस्त्र प्रहरीको सक्रियता र सूचनाको भरपर्दो व्यवस्थापनको परिणामस्वरूप सम्भव भएको हो।
उक्त कार्यवाहीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारमा अंकुश लाग्ने विश्वास सशस्त्र प्रहरीले व्यक्त गरेको छ। चोरी पैठारी सम्बन्धी थप अनुसन्धान भैरहेको बताइएको छ।
