वीरगञ्ज, ९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बालबालिका बेचबिखनविरुद्ध कार्यरत संस्था AATWIN र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययनको निष्कर्ष तथा सुझाव सार्वजनिक गर्दै छलफल कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–९ स्थित सिद्धार्थ दियालो लर्ड्स होटलमा आयोजित कार्यक्रममा “नेपाल बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन : सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल” विषयमा अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा बालबालिका बेचबिखन तथा ओसारपसारका सम्भावित जोखिम, यसको रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने सुरक्षा रणनीति, सुरक्षाकर्मीको भूमिका तथा सम्बन्धित निकायबीचको समन्वयलगायत विषयमा छलफल गरिएको थियो।
अध्ययनबाट प्राप्त निष्कर्ष र सुझावलाई व्यवहारमा कार्यान्वयन गर्दै बालबालिका बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था र समुदायबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रमले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न जोखिम पहिचान, सूचना आदानप्रदान, निगरानी तथा उद्धार–संरक्षणका क्षेत्रमा सुरक्षाकर्मीको भूमिका अझ प्रभावकारी बनाउने विषयमा समेत मार्गदर्शन गरेको जनाइएको छ।
