ललितपुर,९ असोज । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानीको बहाव बढेपछि सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका छन्।
खोलामा पानीको सतह बढेर मनोहरा पुललाई समेत छोएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले पुल तथा आसपासको क्षेत्रमा आवतजावत नियन्त्रण गरेका हुन्।
सम्भावित दुर्घटना तथा बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीसमेत परिचालन गरिएको छ। सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा नजान तथा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण खोलाको बहाव थप बढ्न सक्ने भएकाले च्यासल तथा मनोहरा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
