पर्सा, ३१ जेठ — वीरगंज महानगरपालिका–४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। मिति २०८२ साल जेठ ३१ गते बिहान करिब ८:४५ बजेबाट सुरु भएको उक्त तालिम कार्यक्रममा प्रहरी निरीक्षक निरोज चौलागाईंको अध्यक्षतामा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंज पर्साका प्रहरी सहायक निरीक्षक भोजराज साह, प्रहरी हवल्दार त्रेता चौधरी, प्रहरी जवान जय प्रकाश कुशवाहा र प्रदीप ठाकुरले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी, वडा प्रहरी कार्यालयका साथै मातहत कार्यालयका प्रहरी कर्मचारीसमेत गरी करिब ७५ जनाको सक्रिय सहभागिता रहेको थियो।
तालिममा आगलागी जस्ता सम्भावित विपद् अवस्थाहरूमा अपनाउनुपर्ने पूर्वसावधानी, तत्कालीन नियन्त्रण विधि, प्राथमिक उपचारका उपायहरू, आगो निभाउने तरिका, जनसुरक्षाका उपायहरू तथा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
सहभागीहरूलाई विपद् आइपरेको अवस्थामा स्थानीय स्तरमै समन्वय गरेर प्रभावकारी प्रतिकार्य गर्न सक्ने बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन्।
तालिम कार्यक्रम बिहान ९:५५ बजे औपचारिक रूपमा सम्पन्न भएको हो।
