जंगलमा वेवारिसे अवस्थामा मानव शरीरका अंगहरू फेला

समाचार

 

पर्सागढी (पर्सा), ३१ जेठ।

पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा वेवारिसे अवस्थामा मानव शरीरका अंगहरू फेला पर्सा प्रहरीले जनाएको छ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत भालु खोला फारलाइन क्षेत्रमा मानव शरीरका विभिन्न अंगहरू फेला परेका छन्।

प्राप्त जानकारीअनुसार मिति २०८२ साल जेठ ३० गते साँझ करिब ५ बजे निकुञ्जभित्र बन्यजन्तुका लागि पानी खनिएको खाल्टोमा अज्ञात व्यक्तिको एउटा खुट्टा र दुईवटा हात फेला परेको हो। त्यस्तै, उक्त स्थानबाट करिब ३०० मिटरको दूरीमा मानव टाउकोको अस्तिपञ्जर समेत फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ। फेला परेका मानव अंगहरू नारायणी अस्पताल, वीरगंजको शवगृहमा राखिएको छ।

हालसम्म मृतकको पहिचान हुन नसकेकोले मृतक व्यक्तिलाई चिनेका जो–कोहीले जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

घटनास्थलबाट फेला परेका कपडामा निलो रंगको पुरुषले लगाउने पाइन्ट र सेतो फुलबाहुला सर्ट रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *