वीरगञ्जमा ६ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ ,गुल्म बिरगंजका टोलीद्वारा नियन्त्रण

समाचार

वीरगञ्ज, ३० असोज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा. पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले अवैध लागुऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

असोज २९ गते राति करिब १०:२० बजे डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा बीरगञ्जबाट रक्सौलतर्फ पैदल गइरहेका भारत बिहार राज्यको पटना जिल्ला बसोबास गर्ने करिब ७० वर्षका ब्रम्ह सहनीलाई शंकाको आधारमा रोकेर तलासी गरेको थियो।

तलासीका क्रममा सहनीले बोकेको झोलाभित्र प्लास्टिक र टेपले बेरिएको अवस्थामा लुकाइछिपाई ल्याइएको करिब ६ किलो अवैध लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा सहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, पर्साले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलका डिएसपी पुरुषोत्तम भण्डारीले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि नियमित चेकजाँच, गस्ती तथा निगरानी गतिविधि तीव्र पारिएको जानकारी दिएका छन्। उनले अवैध कारोबार तथा सीमापार अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राख्दै जनसहयोगका माध्यमबाट अपराध नियन्त्रणमा जोड दिइरहेको बताए।

सशस्त्र प्रहरी बल पर्साको अनुसार पछिल्ला दिनमा भारत–नेपाल सीमामा लागुऔषध तस्करी, भन्सार छलीका सामान र अवैध ओसारपसारका घटनामा वृद्धि भएकाले सुरक्षाकर्मीहरू २४ सै घण्टा सतर्क रही निगरानी गरिरहेका छन्।

यस घटनासँगै सशस्त्र प्रहरी बलले पुनः सीमाक्षेत्रमा अवैध कारोबार तथा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई चेतावनी दिँदै कानुनी कारबाहीबाट कसैलाई पनि उन्मुक्ति नदिइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *