वीरगञ्ज, ५ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राखे/नराखेको, आरक्षण सिटको व्यवस्था कार्यान्वयन भए/नभएको तथा तोकिएको भाडादर पालना भए/नभएको विषयमा विशेष अनुगमन गरेको जनाएको छ।
यात्रुको सुरक्षा, सहज यात्रा तथा उपभोक्ता अधिकारको संरक्षणलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अनुगमनका क्रममा सार्वजनिक सवारी साधनहरूले प्रचलित कानुन तथा मापदण्ड पालना गरे/नगरेको अवस्थाको निरीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अनुगमनका क्रममा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लागि छुट्याइएको आरक्षण सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगर्ने तथा तोकिएको भन्दा बढी भाडा असुल्नेलाई आवश्यक निर्देशन र चेतावनी दिइएको बताइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सार्वजनिक यातायात व्यवसायी तथा चालकहरूलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै यात्रुहरूलाई समेत कुनै गुनासो वा अनियमितता देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।
सवारी व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र यात्रुमैत्री बनाउन यस्ता अनुगमन कार्यक्रमलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।
