काठमाडौंको नयाँ बसपार्क गेस्ट हाउस हत्या प्रकरण: युवतीको हत्या आरोपमा दुई पक्राउ

समाचार

काठमाडौं, साउन ५ ।काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क नजिक रहेको एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया युवतीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङमा एक महिलाको शव फेला परेको थियो। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारका रूपमा भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ लटाली स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *