धनुषा, साउन ५ । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालय धनुषा तथा मातहतका युनिटहरूले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको विशेष निगरानी अभियानका क्रममा ठूलो परिमाणमा अवैध सामान बरामद गरेका छन्।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ साउन ४ गते धनुषा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट किराना सामान, लत्ताकपडा, चाइनिज ओखर, मोटर पार्ट्स, प्रतिबन्धित ब्रोइलर कुखुरा, मदिरालगायतका अवैध सामग्री बरामद गरिएको हो। साथै ती सामान ओसारपसारमा प्रयोग भएका मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु. १२ लाख ५२ हजार ५६० रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने सशस्त्र प्रहरीको भनाइ छ।
